स्वप्निल उडान

स्वप्निल उडान
  • बैंकर्स भएको नाताले एकाङ्की बन्दै गरेको हृदयलाई उद्धेलित पार्ने खालका परियोजनाहरु कहिलेकाहीँ सम्मुखमा आइदिन्छन् । लगानी, बजार, ज्ञान र भविष्यका हिसाबमा जोखिमले भरिपूर्ण तैपनि कहिलेकसो आँखा चिम्लिदिन मन लाग्छ ।

∗ अशोक शेरचन

स्वप्निल उडान भर्न चाहनेहरुका लागि सम्भावना सायद असीमित हुन्छन् । त्यसैले त सगरमाथाको चुचुरो, समुन्द्रको गहिराइ, चन्द्रमाको दुरी, ग्रेटवालको लम्बाई, प्रशान्तको छाल स्वप्निल उडान भर्नेहरुका अघि पुड्को सावित भएका होलान् । तपाइँ हामीले प्रारम्भमा यस्तै मूर्खताको पर्याय मानेका कैयन व्यक्ति र परियोजनाको परिणाम देखेपछि धेरै चोटी जिब्रो काटेका छौं होला ।

स्वप्निल मनका लागि भूगोलले कुनै अर्थ राख्दैन । ब्रम्हाण्डनै उसको खेल्ने खेल मैदान बनिदिन्छ । बैंकर्स भएको नाताले एकाङ्की बन्दै गरेको हृदयलाई उद्धेलित पार्ने खालका परियोजनाहरु कहिलेकाहीँ सम्मुखमा आइदिन्छन् । लगानी, बजार, ज्ञान र भविष्यका हिसाबमा जोखिमले भरिपूर्ण तैपनि कहिलेकसो आँखा चिम्लिदिन मन लाग्छ । स्वप्निल उडान भर्न चाहनेहरुको सपना सँगसँगै उड्न कम्ता आनन्द आउँदैन । अपत्यारिलो, अजिब र उदेकलाग्दा उडान स्वप्निल र साहसिक मनहरुले मात्रै भर्न खोज्छन् । यिनका सपनाका उडान, गाँजा र भाङको नशामा लठ्ठिएका गजेडीका गफ जस्तै नशालु लाग्छन् । यस्तै स्वप्निल मनका धनी मध्येका एक हुन् राजु कार्की र उनले उडान भरेको स्वप्निल परियोजना हो-‘द क्लिफ नेपाल’।

सिन्धुपाल्चोके राजु आफ्नै गाँउठाँउको पाखापखेरा, भीरका थाप्लाहरु र एकोहोरो सुसाइरहने भोटेकोशीको सम्मोहनलाई चटक्कै छोडेर पश्चिम हानिएका थिए । घुमन्ते उनको बानीले उनलाई नयाँ ठाँउ र साहसिक पर्यटनका लागि नयाँ सम्भावनाहरु चाहार्न निकै प्रेरणा दिन्थ्यो । स्थापित पर्यटकीय ठाँउ भन्दा केही दुर, केही अपरिचित, केही अविश्वसनीय परियोजना स्थलको खोजीमा थिए । उनको सोच नै भिन्न थियो, त्यसैले त उनी बेवारिसे भीर र गहिरो खोँचको परिक्रमा लगाउँदै पर्वतको कुश्मा र बागलुङको बिचमा कालीगण्डकीले छुट्याएको तारे भीरमा गएर थामिए । उनको त्यो यात्रा गन्तव्य सम्म पुग्नका लागि त्यसै ठाँउका नेत्र पराजुली र युवराज जोशी सहयात्री बन्न तयार भए पछि यात्रा झनै सहज र सरल बन्यो ।

  • स्वप्निल मनका लागि भुगोलले कुनै अर्थ राख्दैन । ब्रम्हाण्डनै उसको खेल्ने चौर बनिदिन्छ । ‘द क्लिफ’ समूहले नेपालका अन्य सम्भावित ठाँउमा पनि केही नयाँ नौला योजना लिएर अघि बढिरहेको छ भने मित्र राष्ट्रमा पनि विशेषज्ञ सेवा उपलव्ध गराउने सम्झौता गरी काम सुरु गरिसकेको छ ।

राजु कार्की संस्थापक, अध्यक्ष द क्लिफ

प्रेमील पोखराबाट ६० किलोमिटर पर र पवित्र तिर्थस्थल मुक्तिनाथ, बागलुङ कालिका, गलेश्वरधाम, देशकै एकमात्र शिकार आरक्ष ढोरपाटन, विश्वकै गहिरो अन्ध गल्छी, घोरेपानी (पूनहिल), विश्वमै शालिग्राम पाइने एकमात्र नदी कालीगण्डकी र चौविसे राजा र राज्यहरु मध्येका गलकोटे, पर्वते र मुस्ताङे राजा र राज्यहरुको इतिहास लगायतका विश्व चर्चित धरोहरहरुको बिचमा मसक्क मस्किएर मुस्कराइरहेकी परीझै लाग्छ-‘द क्लिफ नेपाल’ । साहसिक खेलको पर्याय बनिसकेको ‘द क्लिफ नेपाल’ स्वदेशी र विदेशी युवायुवती र पर्यटकहरुको पहिलो रोजाईमा पर्न थालिसकेको छ । कोभिड-१९ ले विश्वनै बिक्षिप्त हुदाँ यो परियोजना पनि थलिसकेको थियो । तर, एउटा झिनो आशा र क्षितिजपारीको न्यानो घामलाई धैर्यतापूर्वक पर्खनको विकल्प उनीहरुसँग थिएन ।

सन् २०१३ को राजु कार्कीको ब्रेन चाइल्ड हो ‘द क्लिफ नेपाल’ । स्वदेशी र विदेशी परियोजनाहरुको अध्ययन, विशेषज्ञहरुसँगको श्रृंखलाबद्ध छलफल, भुगोल र भौगर्भिक बनावट, नाप नक्शा, अनुमानित खर्चहरु लगायत अन्य विविध समस्या र तगारोलाई छिचोल्दै गर्दा सन् २०२० देखि रिसोर्ट र दर्जन भन्दा बढी साहसिक खेल सहित परियोजना सञ्चालनमा आयो । पवित्र कालीगण्डकी नदी माथी २ जिल्ला बागलुङ र पर्वत जोड्ने गरि ५२० मिटर लामो बिहङ्गम फलामे झोलङ्गे पूल निर्मित छ ।

  • जहाँ विश्वकै अग्लो र लामो स्काई साइक्लिड., स्काइ क्याफे, स्काइ ग्लाइडिङ, शूभ हात, स्काइ चेयर, क्रेजी ब्रिज, जाएण्ट पिङ, फेमिली पिङ, घोडचढी लगायतको मज्जा लिन सकिन्छ । तर, यी सबै खेलहरु खेल्नका लागी मन चाहीँ दह्रो हुनु भने पर्छ है ।

पूलको बनोटमा आधुनिक कारीगरिको ज्वलन्त नमुना देख्न पाईन्छ । पूलको बिचतिर विश्वकै दोस्रो अग्लो २२८ मिटरको बन्जी र विश्वकै अग्लो स्वीङ गर्नका लागि गोलाकार गम्वज बनाईएको छ । पूल तरेर पारी बागलुङ तर्फ गए पछि बाँकी खेलहरु र मनमोहक रिसोर्टको आँगनीमा पुगिन्छ । जहाँ विश्वकै अग्लो र लामो स्काई साइक्लिड., स्काइ क्याफे, स्काइ ग्लाइडिङ, शूभ हात, स्काइ चेयर, क्रेजी ब्रिज, जाएण्ट पिङ, फेमिली पिङ, घोडचढी लगायतको मज्जा लिन सकिन्छ । तर, यी सबै खेलहरु खेल्नका लागी मन चाहीँ दह्रो हुनु भने पर्छ है ।

‘द क्लिफ नेपाल’ को सञ्चालनसँगै प्रविधि भित्रिएको छ । रोजगारी बढेको छ । स्थानीय उत्पादनहरुले बजार पाएका छन् । धेरैको घरमा खुशीले बास गरेको छ र यसका प्रर्वद्धकहरुले मात्र होइन, दुई जिल्लाका धेरै युवा र नवउद्यमीहरुले पनि सपना देख्न थालेका छन्, र स्वप्निल बन्न पे्ररित गरिरहेको छ । ‘द क्लिफ’ समूहले नेपालका अन्य सम्भावित ठाँउमा पनि केही नयाँ नौला योजना लिएर अघि बढिरहेको छ भने मित्र राष्ट्रमा पनि विशेषज्ञ सेवा उपलव्ध गराउने सम्झौता गरी काम सुरु गरिसकेको छ ।

मैले माथि भने जस्तै स्वप्निल मनका लागि भुगोलले कुनै अर्थ राख्दैन । ब्रम्हाण्डनै उसको खेल्ने चौर बनिदिन्छ । यही लेखोटलाई यिनले यथार्थता दिदै पनि छन् । स्वप्निल उडान भरिरहेका स्वप्निल मनहरुले उचाईलाई निरन्तर कायम राख्दै नयाँ–नयाँ सपनाहरु बाडिँरहन्छन् कि आफ्नै बाध्यता बिबशताहरुको परिबन्दमा बाँधिन्छन् ? समयलाई नै यसको निर्णायक बन्न दिउँ ।