अचेल काठमाडौं विद्रोह गर्दैन

अचेल काठमाडौं विद्रोह गर्दैन

                       -अशोक शेरचन

उहिले उहिले काठमाडौं
विद्रोह ओकल्थ्यो
क्रान्तिको भाषा बोल्थ्यो
बेथिति र विसंगतिलाई
बाह्रैमास मास खेद्थ्यो
तर अचेल,
काठमाडौं विद्रोह गर्दैन
केएफसी खान्छ, कफी पिउँछ
मेटाभर्स हेर्छ र मस्त निदाउँछ
अचेल काठमाडौं विद्रोह गर्दैन ।

उहिले उहिले काठमाडौं
झुण्डिन तयार हुन्थ्यो
छातीमा तातो गोली थाप्थ्यो
अन्याय अत्याचारको दोहोलो काड्थ्यो
तर अचेल.
काठमाडौं विद्रोह गर्दैन
ब्वइलर खान्छ, ह्विस्की पिउँछ
सामाजिक सञ्जालमा रमाउँछ र मस्त निदाउँछ
अचेल काठमाडौं विद्रोह गर्दैन

उहिले उहिले काठमाडौं
सत्ता पल्टाउँथ्यो
तख्ता उल्ट्याउँथ्यो
सत्तासिनको विरोधमा
भद्रा र गोल्चे जिताउँथ्यो
तर अचेल
काठमाडौं विद्रोह गर्दैन
बहिरो बन्छ, विक्षिप्त बन्छ
पुरानाकै बालीघरे हुन्छ र मस्त निदाउँछ
अचेल काठमाडौं विद्रोह गर्दैन ।