राजमार्ग हो जिन्दगी

राजमार्ग हो जिन्दगी

                                              -अशोक शेरचन

राजमार्ग हो जिन्दगी
खर्बौ किलोमिटररुपी अपरिचित राजमार्ग हो जिन्दगी
न शुरुवातको ठेगान, न अन्त्यको पहिचान
कस्को कोखमा जन्मिने हो, कस्कोमा मरण हुने हो ?
सधै साथ हुँदा पनि बिरानो लाग्ने राजमार्ग हो जिन्दगी
फगत रहरमा जिन्दगीभरी हिडाईन्छ जिन्दगी
चारै प्रहर सोचको पराकाष्ठमा दौडाईन्छ जिन्दगी ।

नचाहदा नचाहदै नौलो राजमार्ग कोरिदिन्छ जिन्दगी
जिन्दगीको राजमार्गमा राजा देखि रंकसम्म
सबै सधै हस्याङ, फस्याङ गर्दै दौडीरहेका हुन्छन्
आरोह र अवरोहको, मिठो र नमिठो स्वादरुपी राजमार्ग हो जिन्दगी
असख्य अनुभवहरुको श्रव्यदृश्य सँगालो हो जिन्दगी
कसैका लागी नाफै नाफाको त कसैका लागी
घाटैघाटाको अपूरो र अधूरो राजमार्ग हो जिन्दगी

सोचको राजमार्ग सँगसँगै टाकुरामा पुगेको हुन्छ जिन्दगी
अपशोचको राजमार्ग हुदै ओरालो लागिरहेको हुन्छ जिन्दगी
न बितेको समय फर्काउन सक्छ जिन्दगी, न भविष्यबारे बताउन सक्छ जिन्दगी
बर्तमानलाई नै बर्तमान बन्न दिदैन जिन्दगी
भूतलाई सम्झाई सम्झाई रुवाउछ जिन्दगी
भविष्यलाई तर्साइ तर्साइ अर्धमरो बनाउछ जिन्दगी

अनगिन्ती सहयात्रीहरु भेटिने राजमार्ग हो जिन्दगी
असंख्य सम्झनाहरु लेखिने र मेटिने राजमार्ग हो जिन्दगी
जिन्दगीका सहयात्रीहरु न स्थायी हुन्छन् न अस्थायी
सम्झौताका बगे्रल्ती ठेलीहरु हुन् जिन्दगी
सहयात्रीहरुकै ईश्या रिसरागको,माया र स्नेहको पुलिन्दा हो जिन्दगी

जिन्दगीहरु भेटिने र छुटिने राजमार्ग हो जिन्दगी
सडकमै जन्मिरहेको देखिन्छ जिन्दगी
सडकमै बेचिईरहेको भेटिन्छ जिन्दगी
जिन्दगीहरु बेचिने र किनिने राजमार्ग हो जिन्दगी
तापैतापको अगेनो हो जिन्दगी, रापैरापको भूमरी हो जिन्दगी
न हासोको मात्र हो जिन्दगी
न रोदनको मात्र हो जिन्दगी
परिचयहरु फेरिईरहने र परिचितहरु बदलिरहने राजमार्ग हो जिन्दगी

क्षणमै रमाउछ जिन्दगी, व्यर्थै बैरागिन्छ जिन्दगी
परिभाषा खोज्ने क्रममा अपरिभाषित बनिदिन्छ जिन्दगी
कहिले बरालिन्छ जिन्दगी, आफै सम्हालिन्छ पनि जिन्दगी
जिन्दगी भित्रै हराउँछ जिन्दगी,
एकान्तमा पनि भक्कानिएर धुरुधुरु रुवाउछ जिन्दगी
जिन्दगीहरु बरालिने र सम्हालिने राजमार्ग हो जिन्दगी

सपनाहरुको राजमार्ग हो जिन्दगी
कल्पनाहरु अविरल बगिरहने तरंग हो जिन्दगी
सपनाहरु संगै आत्मादाह गर्दछन् जिन्दगी
कल्पनाहरु संग आत्मसन्तोष पनि मान्दछन जिन्दगी
अस्तव्यस्त चोक हो जिन्दगी, निर्मूल नहुने दीर्घरोग हो जिन्दगी
जिन्दगी छ र त हाम्रो अस्तित्व छ, नहुँदो हो त जिन्दगी नै हुने थिएन

सही माने सही हो जिन्दगी, गलत सम्झे गलत हो जिन्दगी
औंसीको रातमा पूर्णेको रश्मि हो जिन्दगी
अचम्मैको अनौठो तिलस्मी हो जिन्दगी
मृत्युको सत्यबाट वाकिफ हुँदाहुँदै अमरत्वको चाह हो जिन्दगी
चाहेर नचाहेर एउटा चोला फेर्नैपर्ने वाह वाह हो जिन्दगी
बाँच्दा सम्म आस हो जिन्दगी, मरेपछि फगत एक लास जिन्दगी