प्रिय बागलुङ

प्रिय बागलुङ

प्रिय बागलुङ,
धौलागिरि नखुलेर के भो ?
तिमी त मस्त खुलेकी छाै
भोलि, पर्सि खुल्दै गर्ला धौलागिरि
आऊ,
आज हामी मायाका कुरा गरौँ
पिरतीका कुरा गराैँ
कालीगंगाको छालजस्तै
उर्लिंदो तिम्रो बैँसको कुरा गराैँ
माईथानका घण्टहरूसँगै
भैरवथानका नगराहरूसँगै
भरभराउँदो तिम्रो जवानीको कुरा गराैँ ।

दुःखहरू हाम्रा ढोरपाटनतिर बिसाऊँला
चमेरे गुफाको ढुंगामा
हाम्रै नाम खोपौँला
व्यथाहरू हाम्रा सबै
दरमखोलातिर बगाऊँला
हाँडीकोटको डाँडामा बसेर
सूर्यदयसँगै मन साटौँला
भूमेथानमा फूलपाती चढाऊँला
तारा खोलामा माछा मार्दैमार्दै
घुम्टेको लेकमा बादलहरूबीच
लुकामारी खेलौँला
बिहुँकोटे भजन सुन्दै
साग्दी सत्यवतीसामु उभिएर
आशीर्वाद थापूँला ।

गाँजाको दहको पानीले
भोकतिर्खा मेटौँला
बराह ताललाई साँची राखेर
बाचाकसम खाऊँला
बेलढुंगाको काखमा बसेर
हिउँले हाम्रै गीत लेखौँला
लामो झोलुङ्गे पुल तरेर
अदुवाबारी घुमौँला
बन्जीमा कावा खाँदै
महाशिलालाई ढोगूँला ।

काठे खोलाको कलकलसँगै
रुद्रे पीपल हुँदै
कुँडुले मन्दिर छुँदै
पञ्चकोटतिर चढौँला
जिस्किँदै छिल्लिँदै तिमीसँग
सँगैको बुद्धहिल पुगूँला
झ्याउरे र कौडाको खालमा
यानीमाया र सालैजो भाकामा
कम्मर मर्काई मर्काई नाचाैँला
भदौरे नाचमा दुम्जाको फाँटमा
असारे गीत घन्काऊँला
पञ्चासेको गुराँस टिपी
शिरमा सिउरिदिऊँला
संसारकोट पुगी
सूर्यास्तसँगै
एकअर्कामा हामी डुबाैँला ।

प्रिय बागलुङ,
युगौँदेखि म तिम्रो प्रेममा थिएँ
अनन्तकालदेखि म तिम्रो प्रेममा छु
तिमीसँगको मेरो प्रेम अबिरल रहनेछ
सधैँसधैँलाई अविच्छिन्न र नि:शब्द ।